Friday, February 14, 2020

कविता : रित्तो जिन्दगी


पूर्णिमा प्रतिविम्ब 

कविता

रित्तो जिन्दगी





सपनाहरूको पहाड ढलेर
आफैले खनेको
गन्तव्यको गोरेटो पुरिएपछि
यति बेला यात्राकै क्रममा भएपनि
यात्रा गन्तव्य बिहिन भएको छ
 माझी बिनाको डुङ्गा जस्तै !

फेरि बाटो खन्ने,
साहासको हतियार
मनको आरनले
अर्चाप्नै सकेन
कोइला बनेर साथ दिनुपर्ने
सारथि पनि टाढा भइदिदा
मनमा कुरा खेलि रहेछ,
-    "ओराली लागेको मृगलाई
                बाच्छाले पनि लखेट्छ "
जानकारहरुले
त्यसै भनेका होइन रहेछन् ।

थाहै नदिएर
खुसीको समानान्तर रेखा
दुखको वक्ररेखामा
परिवर्तन भएपछि
यति बेला,
रित्तो लागिरहेछ जिन्दगी
अक्षर बिनाको किताब जस्तो !


Share this article :

0 comments:

Post a Comment

 
by K.D